Skip

Hamro Sanchar

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १७ गते


काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक आज बस्दै छ ।

पार्टीले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठक बस्न लागेको हो ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको समिति सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिए ।

उनले बुधबारदेखि समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका लागि आवश्यक काम सुरू गर्न लागेको पनि बताए ।

‘पार्टीले गरेको निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न, केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा गरेको सहजता र उदारतालाई तलसम्म पुर्‍याउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’ नेता रसाइलीले भने ।

उनले समितिले अहिलेसम्म क्रियाशील सदस्यताबारे भएका कामहरूलाई लिपीबद्ध गर्ने र त्यसको प्राविधिक पाटोलाई सहज गरेर व्यवस्थापन गरिने पनि बताए ।कांग्रेसले आसन्न १५ औँ महाधिवेशनलाई क्रियाशील सदस्यताको विवादबाट मुक्त गराउने उद्देश्यसहित महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ बनाएर काम अघि बढाएको थियो ।

व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन् ।

महामन्त्री थापाले १८ कात्तिकमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रतिवेदनअनुसार झण्डै नौ लाख क्रियाशील सदस्यमध्ये तीन लाखले मात्र नवीकरण गरेका छन्।


प्रतिकृया दिनुहोस्