
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा युवालाई अवसर दिने बताएका छन्।
वाईसीएल नेपालले आज पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले पार्टी र देशको आगामी नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताए।
‘युवाहरूलाई नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा हामीले तयार पार्नुपर्छ भन्ने सपना हामीले देख्नुपर्छ भन्ने मैले ठानेँ,’ यसबारे पार्टीमा छलफल भएको बताउँदै उनले भने, ‘आउने चुनावमा हामी धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने संकल्प गर्ने अवस्था हो। आजको अवस्था भन्ने पनि हामीले छलफल गरेका छौँ र हामी छिट्टै त्यो निर्णय पनि गर्दै छौँ।’
पार्टीभित्र पनि आगामी चुनावमा बढीभन्दा बढी युवालाई अवसर दिनेबारे गम्भीर छलफल भइरहेको उनले जानकारी दिए।
पार्टी कमिटिहरूमा समेत युवाको सहभागिता उल्लेख्य बनाउने तयारी भइरहेको बताउँदै युवालाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा नेतृत्वका लागि तयार पार्ने प्रतिवद्धता पनि जनाए।
‘नयाँ पुस्ताका युवाहरूलाई बढीभन्दा बढी जिम्मेवारी सुम्पने, त्यो वातावरण बनाउने हामी पुराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी हो भन्ने मैले महसुस गरेको छु। म तपाईँहरूलाई त्यही कुराको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ प्रचण्डले भने।
वर्तमान पुस्ताले अब नयाँ पुस्ताको नेतृत्व निर्माणमा लाग्ने संकल्प र सपना देख्नुपर्ने उनको भनाई थियो। ‘अब हामी जुन पुस्तामा छौँ र जुन जिम्मेवारीमा छौँ, हामीले एउटा अर्को नयाँ सपना देख्नुपर्छ भन्ने मैले महसूस गरिरहेको छु। अब तपाईँ युवाहरूलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी तपाईँहरूलाई सुम्पिने संकल्प, सपना हामीले देख्नुपर्छ,’ उनले भने।
उनले युवा पुस्ताका माग र आफूहरूको मागमा धेरै समानता देखिएको बताए। विगतमा भएका गल्ती, कमजोरी स्वीकार गर्ने, आत्मसमीक्षा गर्ने र युवाहरूको स्पिरिटअनुसार आफूलाई बदल्ने र नयाँ ढंगले नेपाल निर्माण गर्ने नयाँ संकल्प लिने परिस्थिति पनि युवाहरूले पैदा गरेको उनको भनाई यियो।

















