Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमालेसँग भएको समझदारीमा कांग्रेस शत प्रतिशत प्रतिबद्ध छ : गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १० गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ दल नेकपा एमालेसँग भएको समझदारीमा पार्टी शत प्रतिशत प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।

सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले कांग्रेसले यसअघि पनि माओवादीसँग सहकार्य गरेको बेलामा एमालेले गरेको प्रस्ताव अस्वीकार गरेको र अहिले पनि आफ्नो बोलीमा प्रतिवद्ध रहेको बताए ।

‘एमालेले काँध फेर्न जान्छ, कम्युनिस्ट एकता गर्छ, फेरि मिलौं भनेर जान्छ भने पनि उसको कुरा हो,’ थापाले भने, ‘हामी काँध फेर्न जाँदैनौं । कांग्रेस जे बोल्छ त्यही हो ।’

साथै, उनले आफ्नो पार्टी माओवादी केन्द्रसँगको गठबन्धनमा हुँदा पटकपटक एमालेले सहकार्यको प्रस्ताव गरेको बताएका छन् ।

‘कांग्रेस र माओवादीको संयुक्त सरकार बनिरहेको बेलामा नेकपा एमालेको तर्फबाट पटकपटक कांग्रेसलाई प्रस्ताव गरिएको थियो कि यो सरकार छाडिदिनुस्, कांग्रेसको नेता प्रधानमन्त्री बन्नुस्,’ महामन्त्री थापाले अघि भने, ‘बाँकी सम्पूर्ण कार्यकाल कांग्रेसकै नेतृत्वमा सरकार बनाउन हामी तयार छौं भन्ने प्रस्ताव थियो । तर, कांग्रेसले त्यो प्रस्ताव स्वीकार गरेन ।’ उनले त्यतिबेला कांग्रेस विकल्प खोज्दै नहिँडेको पनि बताए ।

‘तर, कांग्रेसले हामी विकल्पको बारेमा सोच्दैनौं भनेर भन्यौं । हाम्रो समर्थनमा बहुमतको सरकार थियो । हामी विकल्प खोज्न गएका थिएनौं,’ महामन्त्री थापाले भने ।


प्रतिकृया दिनुहोस्