काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकपअन्तर्गत आज (बुधबार)नेपाल अस्ट्रेलियासँग भिड्दै छ।
पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित नेपालले आज तेस्रो खेल खेल्न लागेको हो।
तेस्रो खेलमा अस्ट्रेलियासँग नेपालको भिडन्त नेपाली समयानुसार दिउँसो १२:१५ बजे सुरु हुनेछ।
माघ ५ गते पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेट तथा ७ गते भएको दोस्रो खेलमा स्कटल्यान्डसँग १ विकेटले हारेको थियो। आजको खेल पनि हारे नेपाल समूह चरणबाटै बाहिरिनेछ।
जारी विश्वकपमा नेपाल समूह ‘डी’मा छ। उक्त समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्यान्ड छन्।
अस्ट्रेलिया दुई जितसहित ४ अंकका साथ समूह डीको शीर्ष स्थानमा छ भने बंगलादेश र स्कटल्यान्ड २र२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल भने अंकविहीन रही पुछारमा छ।
विश्वकपको समूह ‘ए’मा आयोजक मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन्। यस्तै समूह ‘सी’मा न्युजिल्यान्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।