Hamro Sanchar

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २१ गते


Advertisement

काठमाडौं । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ ।

तिहार अघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मङ्गलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको हो ।

तिहार अघि नै टिकटक दर्ताको निर्णय भए पनि तिहारपछिको बिदाको पहिलो दिन मङ्गलवार टिकटका प्रतिनिधिले दर्ता प्रमाणपत्र लिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिएका छन्।

उनका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा दर्ता गरिएको हो ।

मन्त्रालयका प्रवक्ता ठाकुरका अनुसार यस अघि नेपालमा टिकटक आधिकारिक नभए पनि अब भने आधिकारिक रूपमानेपालको ऐन कानूनको परिपालना गर्ने प्रक्रियामा अघि बढेको छ ।

यसअघि टिकटकमार्फत भइरहेका साइबर अपराधमा उक्त कम्पनीले कुनै पनि सूचना नै नदिने गरेको भए पनि टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएसँगै साइबर अपराधको अनुसन्धानमा उक्त कम्पनीले सघाउने प्रतिबद्धता जनाएको छ।

यति मात्रै नभएर नेपालको कानून तथा सर्त मान्न तयार भएको, पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ ।

निर्देशिकाको दफा ३ को उपदफा ८ अनुसार दर्ता भएको सामाजिक सञ्जाल प्लेटमर्फ सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले प्रत्येक ३ वर्षमा विवरण अद्यावधिक गराउनुपर्ने व्यवस्था रहेको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ ।

त्यसका लागि सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले सूचीकरणका लागि मन्त्रालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था छ ।

मन्त्रालयले निवेदन जाँचबुझ गर्दा विवरण उपयुक्त देखिएमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाला२ तोकिएको ढाँचामा सूचीकरण गरेको दर्ता प्रमाणपत्र दिनुपर्ने व्यवस्था छ ।


प्रतिकृया दिनुहोस्