Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रपतिलाई भेटेर विपक्षी दलले भने : अध्यादेश आउँदै छ, सचेत रहनुहोला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ७ गते


Advertisement

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई दलीय अधिनायकवादतर्फ लैजानका लागि अध्यादेश ल्याउन खोजेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेललाई सचेत रहन भनेका छन्।

संविधानको मूल मर्म बहुदलीय लोकतान्त्रिक गणतन्त्र भए पनि संविधानको आशयविपरीत अध्यादेश ल्याउन खोजेको उनीहरूको भनाइ थियो।

‘संविधानको मर्मविपरीत अध्यादेश ल्याएर राष्ट्रपतिलाई समेत विवादमा पार्न खोजिँदै छ। यसमा सचेत रहनुहोला। विवादमा नपर्नुहोला।’ भेटमा सहभागी एक नेताले विपक्षी दलका नेताहरूका तर्फबाट राष्ट्रपतिलाई गरिएको आग्रहबारे भने।

विपक्षी दलका नेताहरूले सरकारको गति र मति सकारात्मक दिशामा नभएको, बाढी पहिरोमा संवेदनशील नभएको र सुशासनमा कमजोर देखिएको पनि राष्ट्रपतिलाई सुनाए।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विपक्षी दलका नेताहरू राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए।

शीतलनिवास पुग्नेमा नेकपा माओवादी केन्द्रबाट प्रचण्ड र शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीबाट माधवकुमार नेपाल र राजेन्द्र प्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ र हेमजङ गुरुङ, आम जनता पार्टीबाट तिलक थापामगर थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न अध्यादेश ल्याउन खोजेको आशंका गर्दै उक्त विधेयक आएमा जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय विपक्षी दलहरूले गरेका थिए।

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूका तर्फबाट १३ बुँदे ज्ञापनपत्र बुझाइएको थियो।

विपक्षी दलहरूको समूहमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टी छन्।


प्रतिकृया दिनुहोस्