दोलखा, कात्तिक ५- दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत नयाँपुल-सिम्टे-डाँडाखर्क जोड्ने ६.७१९ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ ।
एडिबीको ऋण सहयोगमा ग्रामिण सडक संजाल सुधार कार्यक्रम अन्तर्गत उक्त सडक कालोपत्रे गर्न बागमती प्रदेश सरकार अन्तर्गत यातायात पूर्वाधार निर्देशनालयले गत बर्षको असारमा १९ करोड १८ लाखको ठेक्का टेन्डर आह्वान गरेको थियो । जसअन्तर्गत सिन्धुलीको स्वछन्ध जेबिले १७ करोड ९१ लाख ११ हजारमा ठेक्का पाएको छ ।
आइतबार गाउँपालिका अध्यक्ष हिरा थोकर, उपाध्यक्ष गायत्री आचार्य, वडा नम्बर १ का अध्यक्ष इश्वर कोइराला, २ का अध्यक्ष रामकृष्ण भण्डारी, पालिका प्राविधिक र इन्जिनियर, स्वछन्ध जेबिबाट ठेकेदारहरुलगाएत ग्रामिण सडक सुधार आयोजनाका कर्मचारीहरुले अनुगमन गरेका थिए । त्यसलगत्तै कम्पनीले कालोपत्रे गर्ने कार्य सुरु गरेको हो ।
उक्त सडक कम्पनीले २ बर्षभित्र सम्पन्न गरि सक्नुपर्ने सम्झौतामा उल्लेख छ तर आगामी आर्थिक बर्षको जेठभित्रै सम्पन्न गर्ने गरि काम सुरु भएको गाउँपालिका अध्यक्ष थोकरले बताए । सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीलाई सडक निर्माणमा प्रयोग गरिने ढुङ्गा, गिट्टी, बालुवा वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरेर मात्र प्रयोग गर्न र समयमै गुणस्तरीय रुपमा काम सम्पन्न गर्न निर्देशन दिएको बताए ।
‘ठेक्का पाएको कम्पनीले २ बर्षभित्र कार्य सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । तर आगामी जेठभित्रै कालोपत्रे सम्पन्न गर्नेगरी काम भैरहेको छ । गुणस्तरीय कार्य निर्देशन पनि दिएका छौं । त्यसका लागि हामी गाउँपालिका प्राविधिक, इन्जिनियरसहित जनप्रतिनिधि सडक निर्माण कसरी अगाडि बढेको छ, गुणस्तरीय काम भएको छ छैन निरन्तर अनुगमनमा हुनेछौं । ‘ अध्यक्ष थोकरले भने ।
सडकको चौडाई साढे ५ मिटर हुनेछ भने त्यसैमा नाला निर्माण हुनेछ ।
उक्त सडक कालोपत्रेका लागि आफुले बिगत २ बर्षदेखि नै पहल गरेको गाउँपालिका अध्यक्ष थोकरले बताए । आफुले पटक-पटक बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयलाई घच्घच्याएर बजेटको व्यवस्था मिलाएको उनको भनाइ छ ।
गाउँपालिका सबै ठाउँमा ३ वर्षभित्र सडक सञ्जाल पुर्याउने लक्ष्य रहेकोमा क्रमिक रूपमा बजेटको ब्यवस्थापन गर्न लागिएको बताए । “एकै वर्षको बजेटले सबै ठाउँमा सडक पुर्याउन सम्भव छैन ।” उनले भने, “क्रमागत योजनामा हालेर ३ वर्षभित्र सडक सबै ठाउँमा पुर्याउने लक्ष्य लिएका छौं ।”
विकासका नाममा सडकमा बर्षेनी करोडौ रुपियाँ खर्च हुने गरेपनि त्यसको प्रतिफल थोरै देखिएको भन्दै अब विकास निर्माणका काम देखिने गरि पारदर्शी ढंगले गर्ने प्रतिबद्धता व्यक्त गरे । सय वटा योजना आएपनि थोरै गर्ने तर राम्रो गर्ने लक्ष्य रहेकाले जनताले चाहेको र सोचेको जस्तो गाउँपालिका बनाउने उनको भनाइ छ ।
पालिकाभित्र पर्ने नयाँपुल-डाँडाखर्क सडकअन्तर्गतको १२ किलोमिटर सिम्टे–लप्सी फेदा सडकको कालोपत्रे यसअघि नै सम्पन्न भएको छ भने पालिकाका अन्य सडकमा ढलान, नाली बनाउने ग्राभेलिंग लगायतका सडक स्तरोन्नतिका केहि कामहरु सम्पन्न भैसकेका र केहि सम्पन्न हुने तयारीमा छन् ।
सडक कालोपत्रे भएपछि शैलुङ गाउँपालिकाको केहि भूभागका स्थानीय र मेलुङ गाउँपालिकाका सिम्टे, पवटीलगायतका गाउँका स्थानीय लाभान्वित हुनेछन् ।
सो क्षेत्रका गाउँमा सडकको पहुँच पुगेपनि वर्षायाममा निकै समस्या पर्दा स्थानीयको कृषि उपज सामाग्री सहज ढुवानी र बजारीकरणमा समस्या पर्ने गरेको थियो ।
कृषि र पशुपालनले प्रचूर सम्भावना रहेको सो क्षेत्रका बासिन्दाले बर्खायामको मौसममा कृषि उपजको बजारीकरणमा समस्या पर्दै आइरहेको थियो । गाउँमा सडक पहुँचसँगै कालोपत्रेको काम अघि बढेपछि स्थानीय बासिन्दा निकै उत्साहित भएका छन् ।
यो पनि पढ्नुहोस्- नयाँपुल-पवटी-डाँडाखर्क सडक कालोपत्रे हुँदै, १९ करोड १८ लाखको टेन्डर आह्वान