Skip
आज : २०८१ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

८ किलो सुन सहित २ जना भारतीय नागरिक पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १९ गते


Advertisement

मकवानपुर । मकवानपुरको हेटौँडाबाट ११ करोड बढीको सुन बरामद गरिएको छ । हेटौँडा–१५ रातोमाटे चौकीबाट ८ किलो ४३।९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सो सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको छ । सो परिमाणको सुन सहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्थान बस्ने वर्ष २७ को राहुल भिट्टिहाल बाड रहेका छन् ।

एसपी खड्काका अनुसार असोज १९ गते बिहानको ३ः०० बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौँडा-१५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा सुन बरामद भएको थियो ।

शङ्काका आधारमा स्कुटर रोकी चेकजाँच गर्दा बाड र कुटीले शरीरको विभिन्न भागमा लुकाएर सुन ल्याएको भेटिएको एसपी खड्काले बताए ।

उनीहरुले टेपको सहायकले बाँधेर शरीरमा रुमाले बेरेर बिस्कुटको आकारको ८ थान सुन फेला पारेको एसपी खड्काले बताए ।

खड्काका अनुसार उनीहरूले जनकपुरबाट सुन लिएर पथलैया सम्म बस आएका थिए । पथलैयाबाट भने उनीहरू स्कुटरमा हेटौँडा तर्फ आउँदै गरेका थिए । उनीहरुले काठमाडौँको गौशालामा सुन बुझाउने गरी जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी खड्काको भनाई छ । बरामद भएको सुन र पक्राउ परेका कुटी र बाडलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको एसपी खड्काले बताए ।


प्रतिकृया दिनुहोस्