आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वर्षाले काठमाडौँ उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १२ गते


Advertisement

काठमाडौं । निरन्तरको अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ। वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीका पूर्वाधारहरूमा क्षति पुर्‍याउँदा आपूर्ति प्रभावित भएको हो।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषकाअनुसार, काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । प्रवक्ता घोषले काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिबार करिब २०० मेगावाट मात्र रहेको बताए।

बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरू प्रभावित भएका छन्। भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन्।

त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तिवन, चापागाउँ,खोकना, चक्रपथ, हरिसिद्धि, रेडियो नेपाल र लुभु फिडर बन्द छन्।

लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैरीधारा फिडर बन्द छ। टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालिमाटी, चक्रपथ र चःमती फिडर प्रभावित भएका छन्।

नयाँ चाबहिल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्युचाटार सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका कलंकी, बलम्बु रोपवे फिडर प्रभावित भएका छन्।

प्राधिकरणका प्रवक्ता घोषले विद्युत् आपूर्ति जति सक्दो छिटो सुचारु गर्न टोली खटिएको बताए। तर, धेरै ठाउँ जलमग्न भएको र नदीको सतह बढेकाले लाइन चलाउन अप्ठ्यारो भइरहेको उनको भनाइ छ।


प्रतिकृया दिनुहोस्