Hamro Sanchar

योगेशको ‘हिंसा’ शब्द रेकर्डबाट नहटाएपछि संसद्‌मा माओवादीको विरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २६ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएपछि नेकपा माओवादी केन्द्रले संसद् बैठक अवरोध गरेको छ।

आज सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली र कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलपछि उक्त शब्द रेकर्डबाट हटाउन नपर्ने जानकारी गराएका थिए।

लगत्तै, माओवादी केन्द्रले संसद् बैठक अवरोध गरेको हो।अवरोधपछि समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संविधानको प्रस्तावना पढेर सुनाएका थिए। ‘यो शब्द संविधानको कुन चैँ धारा, उपधारामा छरु’ उनले प्रश्न गरे।

उनले आफ्नो पार्टी बहस गर्न तयार भएको समेत सुनाए।

भट्टराईले उक्त शब्द प्रयोग गरेपछि भदौ १२ गतेको बैठकमा केहीबेर माओवादी र नेकपा एमालेका सांसदहरूबीच जुहारी नै चलेको थियो।

योगेशले पटक पटक जनयुद्धलाई हिंसा नै हो भनेपछि माओवादी केन्द्रका सांसदहरू हितराज पाण्डे, माधव सापकोटा सुबोध लगायतले आपत्ति जनाएका थिए।

सो विषयमा छानबिन गर्न सोही दिनको बैठकमा सभामुख घिमिरेले निर्देशन समेत दिएका थिए।

सभामुखले उक्त शब्द रेकर्डबाट नहट्ने बताएपछि माओवादी सचेतक पाण्डेले आज पनि आपत्ति जनाएका छन्।

पाण्डेको प्रतिवादमा उत्रिएका एमाले सांसद रघुजी पन्तले भने यसअघि पनि पटक पटक संसद्मा यो शब्द प्रयोग भएको भन्दै बचाउ गरेका थिए ।


प्रतिकृया दिनुहोस्