काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा लेदोसहितको पहिरो खस्दा अवरूद्ध बनेको राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।
धादिङको धुनिबेँसी नगरपालिका-९ स्थित खत्रीपौवामा सोमबार साँझ ६ बजेतिर लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको त्रिभुवन राजमार्ग मंगलबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिए।
दुईवटा एक्सकाभेटर र टिपर प्रयोग गरी बिहान ३ बजे पहिरो पन्छाइएको इन्स्पेक्टर थपलियाले जानकारी दिए।
साँझ ६ बजेदेखि बाटो दुईतर्फी नै अवरूद्ध हुँदा धादिङ र काठमाडौंतर्फ लामो जाम भएको थियो।
काठमाडौंतर्फको जाम चन्द्रागिरि नगरपालिका-२ वाणभन्ज्याङस्थित महाशक्तिसम्म पुगेको थियो भने धादिङतर्फ सिक्रे खोलासम्म जाम भएको थियो।
राति ८ बजेसम्म पहिरो खसिरहेका कारण पन्छाउन मुस्किल भएको थियो। पहिरो रोकिएपछि राति १० बजेदेखि मात्रै पन्छाउने काम सुरू भएको थियो।
दुईटा एक्सकाभेटर र टिपर प्रयोग गरी पहिरो पन्छाउँदा झन्डै पाँच घन्टा लागेको थियो।
बाटो दुइतर्फी सञ्चालनमा भएपनि सवारीको चाप केही बढी रहेको इन्स्पेक्टर थपलियाले बताए।