काठमाडौं । सञ्चार तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्मै जाने बताएका छन्।
कास्कीको पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले अहिले नै कांग्रेस-एमाले सहकार्यबारे प्रश्न उठाउनुपर्ने आवश्यकता नरहेको बताए। माओवादीतर्फ संकेत गर्दै गुरुङले अहिले ३२ सिटको ‘म्याजिक’ले पनि दुवै पार्टीलाई ठगेकाले समीकरण परिवर्तनको सम्भावना नरहेको जिकिर गरे।
फरक प्रसंगमा मन्त्री गरुङले गण्डकी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमलाई ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भने। उनले सत्तारुढ दलहरूबीचको किचलोप्रति विमति जनाए।
लामो समयसम्म पनि सरकार विस्तार हुन नसकेको विषयलाई लिएर उनले असन्तुष्टि व्यक्त गरे। यसअघिकै सरकारमा सहभागी भएका दिपक मनाङे र फणीन्द्र देवकोटालाई पुनः सरकारमा सहभागी गराएकोप्रति उनले रोष प्रकट गरेका छन् ।