Hamro Sanchar

कुलमानलाई उर्जामन्त्रीको जवाफ- उद्योगको लाइन काटेर बस्नु घाँटी काट्नु सरह हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १ गते


Advertisement

काठमाडौं, भदौं १- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको वक्यौता नतिर्ने उद्योगहरुमा विद्युत काट्नु नहुने बताएका छन् । शनिबार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उर्जामन्त्री खड्काले डेडिकेटेड ट्रंकलाइनको वक्यौता रकम नतिर्ने उद्योगहरुको विद्युत काट्नु नहुने बताएका हुन् ।

उर्जामन्त्री खड्काले सरकारले उद्योगीहरुले विद्युत उपभोग गरेको रकम तिर्नुपर्दैन नभनेको भन्दै तिर्ने कुरा न्यायोचित छ वा छैन भन्नेकुराको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । उनले वक्यौता रकम नतिर्ने उद्योगहरुलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै एकैचोटी विद्युत काट्नु नहुने बताए ।

उर्जामन्त्री खड्काले उद्योगको लाइन काटेर बस्नु भनेको एउटा घाँटी काट्नुसरह भएको भन्दै नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन दिए । उद्योगसँग आश्रित परिवार, उत्पादन र राजश्वको कुरापनि भएकाले पैसा नतिरेको खण्डमा कानूनको प्रयोग गर्नुपर्ने बताए । उनले सरकारले उद्योगले पैसा तिर्नु पर्दैन भनेर कहिल्यै नभनेको भन्दै दुष्प्रचार गरिएको बताए ।

उर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भन्दै सोही अनुरुप ऊर्जा क्षेत्रको स्रोत, साधन परिचालनमा सरकार लागेको बताए । उनले विद्युतको बढी उत्पादन भएसँगै उपभोगलाई पनि बढाउनुपर्ने बताए । उनले विद्युतको उपभोगलाई बढाउनका लागि बढी उपभोग गर्नेहरुलाई सहुलियत दिनुपर्ने बताएयो । उनले देशका सबै ठाउँमा चार्जिङ स्टेशन राख्नुपर्ने भन्दै नीतिगत रुपमा मिलाएर यसमा निजी क्षेत्रलाई सहभागि गराउनुपर्ने बताए ।


प्रतिकृया दिनुहोस्