Hamro Sanchar

गट्ठाघर दुर्घटना : मृत्यु हुने स्कुटर चालक पुरुष भएको पुष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ३२ गते


Advertisement

भक्तपुर । भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु हुने व्यक्ति पुरुष भएको खुलेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि भएको बताए।

यसअघि दोलखाको मेलुङ गाउँपालिका ४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर दुर्घटनामा ज्यान गुमाउने आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले सुरुमा त्यही विवरण सार्वजनिक गरेको थियो। तर उनले गलत जानकारी दिएको खुलेपछि प्रहरीले सनाखतको लागि थप प्रयास गरेको थियो।

मृतक झण्डै ४०र४५ वर्षको पुरुष भएको परिसरले जनाएको छ। तर, उनको सनाखत भने हुन सकेको छैन।

बिहीबार दिउँसो २ बजेतिर गट्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो।

शव क्षतविक्षत भएकाले दुर्घटनामा मृत्यु हुने व्यक्ति महिला हो कि पुरुष हो यकिन गर्नै प्रहरीलाई हम्मे परेको हो।

शम्भु नेपालीले दुर्घटनामा आफ्नी बहिनीको मृत्यु भएको जानकारी गराएपछि प्रहरीले सुरुमा त्यही विवरण सार्वजनिक गरेको थियो।

आफ्नो मृत्यु भएको समाचार सार्वजनिक भएपछि ती युवती भने प्रहरीको सम्पर्कमा आएकी थिइन्।

स्कुटरलाई ठक्कर दिने ट्रक चालक भने सर्लाही मलंगवा नगरपालिका- २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ रहेको खुलेको छ। उनी आफैँ प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा राखेको छ।


प्रतिकृया दिनुहोस्