Skip

Hamro Sanchar

साउनको अन्तिम सोमबार: १ लाख बढीले गरे पशुपतिनाथको दर्शन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २८ गते


काठमाडौँ। आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

अन्य दिनको तुलनमा आज दर्शनार्थीको घुइँचो बढेपछि सुरक्षाकर्मी एवं स्वयम्सेवक खटाइएको विकास कोषले जनाएको छ । भक्तजनको सहजताका लागि बिहानैदेखि मन्दिरका चारै ढोका खुला गरिएको छ । दर्शनार्थीका सुरक्षाका लागि स्वयंसेवक परिचालन, दर्शन  सहजीकरण, स्वास्थ्य शिविर, खाने पानीलगायत व्यवस्थापन गरिएको प्रवक्ता अधिकारीले बताए ।

भगवान शिवजीको महिना र बार भएकाले पनि साउनको सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो लाग्ने गरेको विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले बताउनुभयो । थापाका अनुसार आज साउनको अन्तिम सोमबार भएकोले अघिल्ला सोमबारको तुलनामा बढी भक्तजन आएका हुन् ।

‘साउनमा पशुपतिनाथमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको भीड लाग्ने गर्दछ,’ उनले भने, ‘आज अन्तिम सोमबार भएकोले बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने र भारतबाट आएका भक्तजनका कारण घुइँचो बढेको हो।’

आज काठमाडौँ उपत्यकाका पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायतका मन्दिरहरुमा महादेवको पूजा आराधना गर्न भक्तजनहरुको भीड लागको छ ।


प्रतिकृया दिनुहोस्