
नवलपरासी, साउन २- नवलपरासी पूर्वमा बाबुको हत्या गरेको आरोपमा छोरा प्रकाउ परेका छन् । ढुंगा प्रहार गरी बाबुको हत्या गरेको आरोपमा प्रहरीले १८ वर्षीय छोरा निराजन कुमाललाई प्रकाउ गरेको हो ।
कावासोती नगरपालिका-५ ठकुरीचोकमा आज (बुधबार) बिहान सवा ११ बजे बुबा(छोराबीच झगडा हुँदा छोरा निराजनले ढुंगा प्रहार गरेका थिए । निराजनले ढुंगा प्रहार गर्दा बुवा ४३ वर्षीय प्रेम कुमालको मृत्य भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई पिटेको विषयमा प्रेम र छोरा निराजन बीच झगडा भएको थियो। प्रेमको कुटाईबाट घरमा पालेको कुकुरको मृत्यु भएको थियो ।
घटनाबारे खबर पाएपछि प्रहरी निरीक्षक बिक्रम रिजालको कमाण्डमा सात जनाको टोली खटिएको छ । उक्त टोलीले छोरा निराजनलाई पक्राउ गरेको छ ।


















