Skip

Hamro Sanchar

नारायणघाट-बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

रासस प्रकाशित : २०८१ जेठ, २६ गते


काठमाडौं, २६ जेठ- विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ ।

विसं २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक १० लाख हुन्थे ।

कोभिडपछि दुई वर्ष पर्यटक लुम्बिनी क्षेत्रमा जान सकेनन् ।

कोरोना महामारी कम भएपछि अरु सबै क्षेत्र पूर्ववत् फर्किए पनि लुम्बिनी क्षेत्रमा भने नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण वार्षिक ६ लाख पर्यटकमात्र पुग्ने गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

आफू संसदीय समितिको बैठकमा भाग लिन कार्यालयकै गाडीमा काठमाडौँ आउँदा पनि १३ घन्टा समय लागेको बताउँदै उनले धार्मिक पर्यटक वृद्धि गर्न ती ठाउँमा जाने सडक पनि सुधार गरिनुपर्नेमा जोड दिए ।

लुम्बिनी क्षेत्रमा पूर्वाधार निर्माण गरे पनि नारायणघाट–बुटवल सडकका कारण पर्यटकले सास्ती खेप्नुपरेको गुनासो कोषका पदाधिकारी र कर्मचारीले सुन्नुपरेको सदस्य सचिव शाक्यको भनाइ छ ।

सडकको काम चाँडो सकिए लुम्बिनीलगायत त्यहाँबाट पश्चिम नेपालका विभिन्न जिल्लामा जाने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या बढ्ने उनले बताए ।


प्रतिकृया दिनुहोस्