
काठमाडौं, जेठ २१- फुटपाथ विस्तार गर्न भत्काएको न्यूरोड सडक विभागले टाल्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति आक्रोश पोखेका छन् ।
उनले गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्युरोड क्षेत्रमा गर्न लागेको फुटपाथ विस्तार कार्यमा अवरोध गरिएको बताएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले ओलीको नामै तोकेर आक्रोश पोखेका हुन् ।
‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला केपी ओलीज्यू! झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ । गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन,’ उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।
मेयर बालेनले ‘यही १० हजार करोडको काण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा काठमाडौं महानगरपालिकाले बनाउन लागेको फुटपाथ फेरि सडकमा परिणत गर्न थालेको आरोप लगाएका छन् ।
‘अब बल्ल देश बन्ने भएछ! आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं।अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो,’ उनले भनेका छन् ।
काठमाडौं महानगपालिकाले जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा बनाउन सुरू गरेको थियो ।














