Skip

Hamro Sanchar

सन्दीपमात्रै होइन तत्कालीन राजा त्रिभुवनले पनि पाएका थिएनन् अमेरिकाको भिसा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १८ गते


काठमाडौँ, जेठ १८- क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो प्रयासमा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । टी–२० विश्वकपमा सन्दीप खेलेको हेर्न चाहेका नेपाली समर्थक अमेरिकाको निर्णयसँगै निराश बनेका छन् । यो निर्णयसँगै सन्दीपका समर्थकहरुले अमेरिका र यहाँस्थित अमेरिकी दूतावासको रवैयाको आलोचना गरेका छन् । अमेरिकाले हालसम्म सन्दीपलाई भिसा नदिनुको ठोस कारण खुलाएको छैन । तरपनि समर्थकहरुले लामिछाने बलात्कार मुद्दामा फसेको कारण नै अमेरिकाले भिसा नदिएको हुनसक्ने आशंका गर्दै आएका छन् । यद्यपि लामिछानेले हालै उच्च अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएका थिए ।

नेपाल क्रिकेट संघ (क्यान)ले सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले क्रिकेटर लामिछानेलाई भिसा नदिएको बताएको छ । क्यानका सचिव पारस खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संचालन हुन लागेको आइसिसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि अमेरिकी दूतावासले भिसा नदिएको जानकारी गराएका हुन् । क्रिकेट खेलाडी लामिछानेको भ्रमणका निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघका साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले विश्वकप खेल्नका लागि भिसा नदिएको खड्काको विज्ञप्तिमा उल्लेख छ ।

लामिछानेले भिसाका लागि दुई पटक निवेदन दिएपनि दूतावासले दुबै पटक भिसा दिन असमर्थता देखाएको हो । पछिल्लो पटक बिहीबार दूतावासले भिसा दिन अस्वीकार गरेको हो । यसअघि अमेरिकाले भिसा दिन अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको मन्त्री विराजभक्त श्रेष्ठले बताएका थिए । बिहीबार नै उनले क्रिकेटर लामिछानेसँगको भेटमा समेत सबै पहल भएकाले आशावादी रहन आग्रह गरेका थिए । सोहीअनुसार दूतावासले लामिछानेलाई बोलाएपनि रित्तो हात फर्किन बाध्य भएका थिए ।

बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेले जेठ २ गते उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । सफाइ पाएसँगै लामिछानेको निलम्बन फुकुवा गर्दै उनलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने नेपाल क्रिकेट संघको तयारी थियो । तर, भिसा नपाएपछि सन्दीपको विश्वकप खेल्ने सपना टुटेको छ । लामिछानेले यसअघि विश्वकपमा खेल्न नपाए पनि टोलीको सफलताका लागि आफू खुसी भएको बताइसकेका छन् ।

यसैबीच लामिछानेविरुद्धको बलात्कार मुद्दालाई सरकारले न्यायिक परीक्षणका लागि सर्वोच्च अदालतमा लैजाने भएको छ । उच्च अदालतको फैसलाको पूर्णपाठ तयार भएर म्याद पाएपछि सर्वोच्चमा पुनरावेदन गर्ने सरकारी वकिलको तयारी रहेको बुुझिएको छ । महान्यायाधिवक्ता कार्यालयका एक अधिकृतका अनुसार जिल्ला र उच्च अदालतबाट फरकफरक फैसला भएको र आफूहरूको मागदाबी कुनै पनि अदालतले स्वीकार नगरेका कारण सर्वोच्चसम्म पुनरावेदन हुन्छ ।

महान्यायाधिवक्ता दीनमणि पोखरेल र केही नायव महान्यायाधिवक्ताका बिचमा यसबारे अनौपचारिक छलफल समेत भइसकेको छ । जसअनुसार छलफलमा एक तह पुनरावेदन गर्नुपर्ने कुरा उठेको थियो । पूर्णपाठ हेरेर यसको प्रक्रिया अघि बढाउने महान्यायाधिवक्ता कार्यालयको तयारी छ । लामिछानेलाई समग्र अभियोगबाट सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेकाले उक्त फैसला बदर हुनुपर्ने माग सरकारी पक्षले गर्नेछ । पुनरावेदनका लागि प्रक्रिया भने उच्च अदालत सरकारी वकिलको कार्यालयले सुरु गर्नुपर्ने छ । उच्च अदालतले फैसलाको पूर्णपाठ जारी गरेपछि सर्वोच्चमा पुनरावेदनको औपचारिक प्रक्रिया सुरु हुने जनाइएको छ । उच्च अदालत स्रोतका अनुसार फैसलाको पूर्णपाठ तयार हुने अवस्थामा रहेको छ ।

उसो त सन्दीपमात्रै होइन विगतमा तत्कालीन राजा त्रिभुवन वीरविक्रम शाहले पनि अमेरिकाको भिसा नपाएको पाइएको छ । उपचारका लागि अमेरिका जान चाहेका तत्कालीन राजा त्रिभुवनले बहुविवाह गरेकै कारण भिसा पाएका थिएनन् । सन् १९५४ को नोभेम्बरमा राजा त्रिभुवन उपचारका लागि अमेरिका जाने कार्यक्रम तय भएको थियो । तर, उनको योजनामा त्यसको दुई वर्षअघि नै जारी भएको अमेरिकाको अध्यागमन र राष्ट्रियता सम्बन्धी कानुनको खण्ड २१२ बाधक बनेको थियो । जसमा ‘एकसाथ दुई पत्नी वा पति भएका व्यक्ति’ लाई भिसा नदिने व्यवस्था गरिएको थियो ।

४ नोभेम्बर १९५४ को न्यूयोर्क टाइम्सले राजा त्रिभुवन अमेरिका जाने कार्यक्रममा त्यहाँको कानुन अवरोध भएपछि अमेरिकी अधिकारीहरू ‘नेपालका राजालाई अमेरिकामा स्वागत गर्नका लागि अन्य उपायबारे छलफलमा रहेको’ समाचार प्रकाशित गरेको थियो । उक्त विषयमा एकै महिनाभित्रै दुईवटा समाचार प्रकाशित गरेको पत्रिकाको ३० नोभेम्बर १९५४ मा प्रकाशित समाचारमा ‘एक पत्नी भएको व्यक्तिलाई मात्र प्रवेशाज्ञा दिने अमेरिकी कानुनका कारण’ राजा त्रिभुवनको अमेरिका भ्रमण स्थगित भएको पनि उल्लेख छ । अमेरिका जान नमिल्ने भएपछि उपचारका लागि स्विट्जरल्याण्ड गएका राजा त्रिभुवनको १३ मार्च १९५५ मा स्विट्जरल्याण्डमै निधन भएको थियो ।


प्रतिकृया दिनुहोस्