
काठमाडौं,जेठ १६- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कानुनी उपचार खोज्ने भएका छन् । प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी आफूलाई पक्राउ गरेर ९ दिनसम्म हिरासतमा राखेकाले यस योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने सिरोहियाको भनाइ छ । बुधबार साँझ हिरासतमुक्त भएपछि सिरोहियाले एक विज्ञप्तिमार्फत सिरोहियाले कान्तिपुरको पत्रकारिता र सञ्चारमाध्यमलाई तर्साउन आफूलाई पक्राउ गरिएकोमा अब कुनै शंका नरहेको पनि बताएका छन् ।
प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखिएकामा यो योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने जानकारी गराउन चाहन्छु । त्यस्तै म गैरनेपाली रहेको, मसँग दुईरतीन थरी नागरिकता रहेको र मेरो नागरिकतामा हस्ताक्षर र मितिसमेत नरहेको जस्ता हल्ला फैलाउनेहरूलाई आफ्नो दाबी प्रमाणित गर्न सार्वजनिक चुनौती दिन चाहन्छु, उनले भनेका छन् ।
उनले आफूलाई पक्राउ गरिएपछि पनि सरकारी कागजपत्र भिडाउन, सम्बन्धित अधिकारीलाई बोलाएर सोधपुछ गर्न तथा फरेन्सिक परीक्षण गर्न आफ्ना वकिलहरूले पटकपटक आग्रह गर्दा पनि आलटाल भएको बताएका छन् । पटकपटकको ताकेतापछि सम्बन्धित अधिकारीलाई बोलाएर सोधपुछ गर्दा ती अधिकारीले हस्ताक्षर आफ्नो भएको बयान कागज गरेपछि आफूविरुद्धको प्रपञ्च समाप्त भएको उनको दाबी छ । उनले आफू अहिले हाजिरी जमानीमा छुटेको र थप अनुसन्धानमा सहयोग गर्न आफू सम्पूर्णरूपमा तयार रहेको बताएका छन् ।
सिरोहियालाई जेठ ८ गते थापाथलीस्थित कान्तिपुर मिडियाको मुख्यालयबाट पक्राउ गरिएको थियो । त्यही रात उनलाई धनुषा लगिएको थियो । तर, मुटुमा समस्या देखिएपछि उनलाई जेठ ११ गते प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । तर, आवश्यक परीक्षण सुविधा नभएको कारण देखाएर उनलाई काव्या अस्पतालमा भर्ना गरिएको थियो । थप उपचार आवश्यक पर्ने भएपछि उनलाई मंगलबारमात्र ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।














