काठमाडौं, जेठ १६- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त हुन लागेका छन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार पाण्डे संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको नेताको हैसियतले आज मुख्यमन्त्री नियुक्त हुन लागेका हुन् ।
उनलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले गत सोमवार परमादेश जारी गरेको थियो । सर्वोच्चले दिएको समय अनुसार मुख्यमन्त्री नियुक्त गर्ने आज अन्तिम दिन हो ।
गण्डकी मुख्यमन्त्री खगराज अधिकारीले संविधानसम्मत विश्वासको मत नपाएको ठहर गर्दै सोमवार सर्वोच्चले उनको विश्वासको मत बदर गरिदिएको थियो ।
एमाले नेता खगराज अधिकारी संविधानको धारा १६८ उपधाार २ अनुसार दुई वा दुईभन्दा धेरै दल मिलेर मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनलाई मुख्यमन्त्री नियुक्त गर्न एमालेका २२ जना, सभामुख कृष्णप्रसाद धितालसहित माओवादीका ८ जना र राजीव गुरूङ ‘दीपक मनाङे’ ले समर्थन गरेका थिए ।
अधिकारीले गत वैशाख २३ गते विश्वासको मत लिँदा ३० जना सांसदले मात्र समर्थन गरेका थिए । अधिकारीले पाएको ३० जना सांसदको समर्थनलाई सभामुख धितालले बहुमतले विश्वासको मत सम्बन्धी प्रस्ताव पारित भएको घोषणा गरेका थिए ।
कांग्रेस नेता पाण्डेले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।