काठमाडौं, जेठ ७- नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा दोस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलहरूको घेराबन्दी र नाराबाजीका बीचबाटै विश्वासको मत लिएका हुन् ।
सोमबार मतदानमा १५८ जना सहभागी रहे । प्रधानमन्त्री दाहाललाई एक सय ५७ सांसदले मत दिएका छन् । विश्वास मत दिन्न भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले बताए ।
प्रधानमन्त्री दाहाललाई सत्तारूढ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका थिए ।
सभामुख घिमिरेले प्रधानमन्त्रीले राखेको विश्वास मत प्रस्ताव बहुमतले पारित भएको पनि घोषणा गरेका छन् । नाराबाजी गरिरहेको नेपाली कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चासहितका प्रतिपक्षी दलहरू भने मतदान प्रक्रियामा सहभागी नै भएनन् ।
२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले सोमबार चौथोपटक विश्वासको मत लिएका हुन् ।