Skip

Hamro Sanchar

दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, अनुसन्धानमा खटियो सीआईबी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २ गते


काठमाडौँ, जेठ २- काभ्रेको पाँचखाल नगरपालिका–४ स्थित जिरो किलोमा जलाएको अवस्थामा भेटिएको शव दोलखाका विष्णु प्रसाद सुवेदीको भएको पुष्टि भएको छ । वैशाख २८ मा उनी मृत भेटिएका हुन् । शव दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोट घर भएका विष्णु प्रसाद सुवेदी भएको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

अनुसन्धान अधिकृतहरूले दाँतबाट उनको पहिचान खुलाएका हुन् । माथिल्लो भागमा ३ वटा र तल्लो भागमा उनले ९ वटा दाँत हालेका थिए । सो आधारमा पहिचान खुलाइएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

रुखमा तारले बाँधेर जलाएको अवस्थामा शव फेला परेको थियो । ललितपुरको महालक्ष्मी नगरपालिका स्थित टिकाथलीमा पनि उनको घर छ । टिकाथलीबाट वैशाख २३ मा उनि दोलखा हिँडेका हुन् । जिरो किलोबाट त्यस दिन बिहान ११ बजेतिर टिकाथलीमा परिवारलाई फोन गरेर भने–‘म साथीहरूसँग एउटा काममा छु, बेलुकासम्म आउन सक्छु ।’

काम पुरा नभएर बेलुका नआउने उनले बताएको हुनाले परिवारका सदस्यहरू ढुक्क थिए । सुवेदीले जीरो किलो स्थित अपरिचितको मोबाइल मागेर परिवारलाई फोन गरेका हुन् । आफूले बोक्ने मोबाइल उनले टिकाथलीमा नै छाडेर गएको परिवारका सदस्यहरूले बताएका छन् ।

सुवेदीको हत्या दर्दनाक र जटिल देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले समेत अनुसन्धान थालेको छ । गएको चैत ३० मा बुद्धचित्तको रुख काटेको घटनामा अनुसन्धान गर्न काभ्रे पुगेको सीआईबीका प्रहरी निरीक्षक सुनिल धोजुँकै टोलीले सुवेदीको हत्या अनुसन्धान थालेको हो ।


प्रतिकृया दिनुहोस्