
काठमाडौं, वैशाख १२- हजारौँ मानिसको ज्यान जाने गरि आएको विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो ।
मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्पका कारण देशभर करीब ८ हजार मानिसको ज्यान लिएको थियो भने निजी तथा सरकारी गरी लाखौ आवास भत्केका थिए ।
भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो । भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो ।
भूकम्पबाट विस्थापित ८ लाख ३३ हजार ८२१ घर–परिवारमध्ये आठ लाख ३२ हजार पाँच सय ८२ लाभग्राहीसँग आवास निर्माणका लागि अनुदान सम्झौता भएको थियो । त्यसमध्ये ७ लाख ४१ हजार सात सय ९८ लाभग्राहीले मात्रै सम्झौता अनुसार निजी आवास निर्माण गर्न सके । ९२ हजार २३ लाभग्राहीले भूकम्पमा ध्वस्त भएका घर निर्माण गर्न सकेका छैन ।
भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको सम्झनामा गाउँपालिकाले आज बिहान ११ः४५ बजे हिमालय माविको खेलमैदानमा श्रद्धाञ्जली कार्यक्रम पनि राखेको छ ।

















