
काठमाडौं, बैशाख ३- उच्च अदालत पाटनले सन्दीप लामिछानेको जर्बजस्तीकरणी सम्बन्धी मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता मगाउने आदेश गरेको छ ।
न्यायाधीशहरु मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति गाउँपालिकाको कार्यालयबाट मगाउने आदेश गरेको हो ।
‘उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कलै प्रति एवम् जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति तादी गाउँपालिका वडा नं. २ को कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्नुहोला,’ उक्त आदेशमा भनिएको छ ।
गौशाला-२६ को बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका सन्दीपलाई अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दीपले दिएका पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले आजदेखि सुनुवाइ थालेको थियो ।
उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो ।
त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । त्यसपछि उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए ।

















