Hamro Sanchar

दोलखा एमालेको उपाध्यक्षमा हिरा थोकरको उम्मेदवारी, अध्यक्षमा तीन जना आंकाक्षी

प्रदिप नेपाली प्रकाशित : २०८० माघ, १० गते


Advertisement

दोलखा, माघ १०- नेकपा एमाले दोलखा जिल्लाको उपाध्यक्ष पदमा हिरा थोकरले उम्मेदवारी दिने भएका छन् । हालका सचिवसमेत रहेका थोकरले एमालेको १०औं जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।

नेकपा एमाले दोलखाको विभिन्न पदमा रहेर जिम्मेवारी बहन गर्दै आएका थोकर मेलुङ गाउँपालिकाका अध्यक्षसमेत हुन् ।

उम्मेदवारी घोषणा गर्दै थोकरले संगठनको संस्थागत विकास गर्न‚ विधानअनुरूप संस्था परिचालन गर्न‚ संगठनलाई पद्धतिबाट कार्यान्वयन गर्न उम्मेदवारी दिएको बताए । पार्टी सुसंगठित, सुव्यवस्थित र सक्षम बनाउनका लागि उपाध्यक्ष पदमा दाबी गर्ने उनको भनाई छ । उनले भने, ‘पार्टीलाई जिल्ला स्तरमा पुनस्थापित गराउने, जनवर्गिय संगठनहरुलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, व्यवसायिक, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउन म जिल्ला उपाध्यक्ष हुन चाहेको हुँ ।’

अधिवेशन माघको १९, २० र २१ गते चरिकोटमा हुनेछ । जसका लागि योग्यता र क्षमताको आधारमा अध्यक्ष लगायत विभिन्न पदमा उम्मेदवारी दिने तयारी भैरहेका छन् ।

यस्तै जिल्ला अध्यक्षमा इश्वरचन्द्र पोख्रेल, भरत दुलाल र पुनः नर बहादुर श्रेष्ठले उम्मेदवारी दिने तयारी गरिरहेका बुझिएको छ । उपाध्यक्षमा हालसम्म थोकर बाहेक कसैले उम्मेदवारी घोषणा गरेका छैनन् भने सचिवमा पनि कसैले दाबी गरेका छैनन् ।

को हुन् थोकर ? यस्तो छ बिगत 

दोलखाको साबिक घ्याङसुकाठोर गाविस (हाल मेलुङ गाउँपालिका वडा नम्बर ३) मा जन्मिएका हिरा थोकरको राजनीतिक यात्रा २०४३ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटीबाट सुरु भएको हो ।

२०४९ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपाल घ्याङसुकाठोकर गाउँ कमिटीको सचिव भएका थिए । २०५१ मा गाउँ पार्टी कमिटीको उपसचिव हुँदै थोकर २०५४ सालको घ्याङसुकाठोकर गाविस वडा नम्बर ५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

उनि सशस्त्र द्वन्द्वको बेला तत्कालीन विद्रोही माओवादी पक्षबाट अपहरण पश्चात् केही दिनमा रिहा भएका थिए । २०६३ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य‚ २०६४ मा युवा संघ दोलखाको अध्यक्ष र २०६७ सालमा जिल्ला कमिटी सचिवालय सदस्य हुँदै ९औं जिल्ला अधिवेशनमा सचिव पदमा निर्वाचित भएका हुन् ।

देश संघीयतामा गइसकेपछि २०७४ भएको स्थानीय तहको निर्वाचनमा मेलुङ गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा निर्वाचित भएका थोकर हाल मेलुङ गाउँपालिकाका अध्यक्षसमेत हुन् ।


प्रतिकृया दिनुहोस्