
काठमाडौं, पुस २६- जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ ।
सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी सजय निर्धारण भएको हुनाले अदालतको आदेश मान्दै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ ।
यसअघि जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई पुस १३ गते बलात्कारी ठहर गरेको थियो ।
त्यसपछि बुधबार बसेको न्यायाधीश ढकालकै इजलासले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउन समेत फैसला गरेको थियो ।
लामिछानेले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको इजलासले ठहर गरेको थियो । पीडित नाबालिग भएको भनेर वादीपक्षले गरेको दावी भने अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको थियो ।
२०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।
यसअघि लामिछानेले आफू राष्ट्रिय टिमबाट अलग भएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र पठाएका थिए ।
उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई पत्र पठाउँदै आफू राष्ट्रिय टिमबाट अलग हुने जानकारी गराएका हुन् ।













