Hamro Sanchar

पुल्चोक क्याम्पसका पदाधिकारीद्वारा सामूहिक राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १८ गते


Advertisement

काठमाडौं, असोज १८- त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक लोकनाथ रेग्मीसहितका पदाधिकारीले स्वैच्छिक रुपमा आवधिक रुपमा सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् ।

आज निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक रेग्मीको अध्यक्षतामा बसेको बैठकले सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, विभागीय उपप्रमुख, एमएससी को–अर्डिनेटर, निर्देशक तथा प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेको हो ।

पछिल्लो समय पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन शुल्क वृद्धि भएपछि विभिन्न राजनीतिक संगठनमा आबद्ध विद्यार्थी संगठनले तालाबन्दी, क्याम्पस प्रशासनका अधिकारी, डीनलगायतका पदाधिकारीमाथि हुलहुज्जत गर्दै आएका छन् ।

मंगलबार मात्रै विद्यार्थी संगठनसँग शुल्क वृद्धि फिर्ता लिने निर्णय भएको थियो। तर, त्यसमा असहमति जनाउँदै सिंगो क्याम्पस प्रशासनबाटै सामूहिक राजीनामा दिने घोषणा गरिएको हो । आजको बैठकमा संस्थानका डीन, सहायक डीनलाई अनधिकृत, अनुचित दबाव सिर्जना गरी नियोचित तवरबाट इन्जिनियरिङ अध्ययन संस्थानको भविष्यमाथि नै संकट पर्ने कार्य भएको ठहर गरेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिले अन्तिम पटक तोकेको शुल्कबमोजिम प्रवेश परीक्षा सञ्चालन नभए क्याम्पस सञ्चालन गर्न असमर्थ हुने सामूहिक राजीनामा पत्रमा भनिएको छ । क्याम्पस सञ्चालन गर्न असमर्थ देखिएकाले स्वैच्छिक रुपमा क्याम्पसको आवधिक पदबाट सामूहिक राजिनामा दिने निर्णय भएको पत्रमा जनाइएको छ ।


प्रतिकृया दिनुहोस्