
काठमाडौं, भदौ २४- लक्ष्मीनारायण बचत तथा ऋण सहकारीले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान तथा तीज विशेष कार्यक्रममा सम्पन्न गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ बाबाचोकमा अवस्थित सहकारीले मुलपानी पिपलबोट नजिक रहेको ड्रिम गार्डेनमा शनिबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा संस्थामा ‘महिला तीज बचत’ गर्ने ४ सयभन्दा बढी महिला सदस्यहरुको लागि तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख उपेन्द्र कार्कीले गमलामा पानी हालेर उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख कार्कीले तडक-भडक नगरी तीज पर्व मनाउन सबैलाई सुझाव दिए । सहकारीमार्फत महिलाहरुले उत्पादनको क्षेत्रमा लगानी गरेर आत्मनिर्भर बन्नुपर्ने उनले बताए । उनले सहकारीले उत्पादनमूलक र व्यावसायिक क्षेत्रमा लगानी गरी महिलाहरुको आयआर्जन वृद्धि गराउनुपर्ने भन्दै आर्थिक कारोबारसँगै समाज परिवर्तन र रुपान्तरणका लागि पनि आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
आम्दानी भए मात्र बचत गर्न सहज हुने भएकाले महिला दिदि बहिनिहरुले आम्दानीको बाटो खोज्न उनले सुझाव दिए । सहकारीमार्फत उद्यमशीलताका क्षेत्रमा काम गर्न र त्यसका लागि नगरपालिका आवश्यक सहयोग गर्न तत्पर रहेको बताए ।
सहकारी गत पुषबाट महिला तीज बचतको कार्यक्रम ल्याएको र त्यसैअनुरुप बचत गर्ने सदस्यहरुको लागि तीज कार्यक्रमको आयोजना गरि एक आपसमा सुख दुःख साटासाट र शुभकामना व्यक्त गर्नुका साथै दर खाने कार्यक्रमको आयोजना गरिएको सहकारीका अध्यक्ष शंकर थापाले जानकारी दिए ।
कार्यक्रममा वडा नम्ब६ का वडाअध्यक्ष प्रकाश फुयाल, वडा नम्बर-७ का वडाअध्यक्ष हरिभक्त पुडाशैनी, संस्थाका सचिव पुष्करराज नेपाल, आनन्द भैरव माध्यमिक विद्यालयकी प्रधानाध्यापक सरस्वती थापा कार्की लगायतले मन्तव्य राखेका थिए ।
सहकारीका अध्यक्ष थापाको अध्यक्षता, संचालक समिति सदस्य तथा तीज बिशेष कार्यक्रम संयोजक बबिना खड्काको स्वागत र महिला तथा सामाजिक उपसमिति सदस्य दिपा न्यौपाने अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा दर खुवाउनुका साथै नाचगान समेत गरिएको थियो ।
यो पनि पढ्नुहोस्- लक्ष्मीनारायण बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

























