काठमाडौं, बैशाख ४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ ले वडाभित्र निर्माणका कार्यमा रकम अपुग भएको भन्दै थप रकम माग गरेको छ ।
वडामा सडक कालोपत्रे र पर्यटन पार्क निर्माण गर्न ४ करोड रुपियाँ नपुग भएको भन्दै वडाअध्यक्ष प्रकाश फुयाल आफै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेका हुन् । उनले आइतबार संस्कृति तथा पर्यटनमन्त्री सुदन किराती, भाैतिक पुर्वाधारमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईलाई भेट गरी अनुरोध पत्र बुझाएका हुन् ।
वडाले नेपाल राष्ट्रिय निर्माण मा.वि. बिद्युत प्राधिकरण मुलपानी पिपलबोट-बोडे सडक जोड्ने कालोपत्रे गर्न आर्थिक बर्ष २०८०/८१ को कार्यक्रममा ३ करोड रुपियाँ समाबेश गरिदिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अनुरोध गरेको छ । भने वडाको पुरानिको चौरको १० रोपनीभन्दा धेरै सार्वजनिक जग्गामा पर्यटन पार्क निर्माणका लागि १ करोड बजेट ब्यबस्थापन गरिदिन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरेको छ ।
मुलपानी पिपलबोट-बोडे सडक जोड्ने कालोपत्रे गर्न आर्थिक बर्ष २०७९/८० मा सडक डिभिजन कार्यालय काठमाडौंबाट ५० लाख प्राप्त भएपनि उक्त रकम अपुग भएकाले थप ३ करोड रुपियाँ समाबेश गरिदिन वडा कार्यालयले अनुरोध गरेको वडाअध्यक्ष प्रकाश फुयालले हाम्रोसंचारलाई जानकारी दिए । वडाअध्यक्ष फुयालकाअनुसार आफुहरुले वडाका बिभिन्न स्थानमा विकास निर्माणका लागि आवश्यक रकम विनियोजन गरिदिनसमेत अनुरोध गरिएको छ । उनले वडा बाहेक स्थानीय तहमा प्राथमिकताका योजनालाई बजेटमा समेट्न माग गरेको बताए ।
बिगत देखि संघ र प्रदेशबाट बजेट माग गरेर धेरै काम गरेको र प्रदेशबाट करिव ३० लाख बजेट ल्याएर मुलपानीको खहरेमा पर्यटन पार्क निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ ।
उनले भने, ‘मैले सुरु देखि वडाको विकासका लागि स्थानीय तहदेखि माथिल्लो तहसम्म समन्वय गरिरहेको छु । वडा बाहेक स्थानीय तहमा प्राथमिकताका योजनालाई बजेटमा समेट्न माग गरेको छु । मन्त्री ज्युहरु सकरात्मक हुनुहुन्छ । यो आर्थिक बर्षमा पक्कै समावेश हुनेछ ।’
माग पत्र लिएर वडाअध्यक्ष फुयालसहित नेकपा माओवादी केन्द्रका स्थानीय नेता घनश्याम गौतम, एकीकृत समाजवादीका अनिल गजुरेल, नविन हुमागाई मन्त्रालय पुगेका थिए ।