काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मेची नदी किनारबाट प्रतिगमनको यात्रा सुरु हुने संकेत मिलेको बताएका छन् । त्यसप्रति सतर्क रहँदै प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न उनले आह्वान समेत गरेका छन् ।
कास्कीमा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधामन्त्री नेपालले भने, ‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट हामी सबैले पाइसकेका छौं । अब हामी सतर्क बनौं । प्रतिगमनको पक्षमा कोको ? अग्रगमनको पक्षमा उभिने कोको ? अग्रगमनको पक्षमा उभिनेहरु एकताबद्ध हौं ।’ राजतन्त्र फर्काउने उदघोष सहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको कार्यक्रमप्रति संकेत गर्दै नेपालले सो धारणा राखेका हुन् ।
नेता नेपालले अहिलेको सत्ता गठबन्धनको पनि आलोचना गरे । ‘खिचडी गठबन्धन’को संज्ञा दिंदै उनले भने, ‘यो संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध छैन ।’ परिवर्तनप्रति पनि गौरववोध गर्ने खालको पनि नभएको उनले बताए । एक अर्को प्रसंगमा उनले राष्ट्रिय सहमतिविना राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए । ‘अरु पार्टीलेजस्तो हारे पनि जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उनले भने ।
यस्तै अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनमा खटपट सुरु भएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले राष्ट्रपति पदको निर्वाचनको विषयलाई लिएर मतभेद सुरु भएको जिकिर गरेका हुन् ।