काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको स्वीकार गरेका छन् । तर उनले आफूले त्यसको दुरुपयोग नगरेको बताएका छन् ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु बनाएको बताए ।
‘नेपालमा बस्नेका लागि के के चाहिन्छ त्यो लिन थालेँ । त्यसको सदुपयोग, दुरुपयोग, उपयोग केही पनि गरिन, जुन दिन अमेरिकी पासपोर्ट र सिटिजनसिप बुझाएपछि मात्र त्यसबाट ट्राभल गरेँ ।’१२–१४ वर्ष बसेको देश अमेरिकाको कागजात च्यातेर हिँड्न नमिल्ने भन्दै उनले त्यहाँ आफ्नो व्यापार, व्यवसाय, दायित्व र ऋण रहेको बताए । ‘आफ्नो देशका लागि चाहिने पासपोर्ट बनाउँदै गर्छु भनेर सोझो चिताएर काम गरेको हुँ, त्यसको कुनै दुरुपयोग गरेको छैन’ उनले भने ।