काठमाडौं, मंसिर २४- चाबहिल-साँखु सडक खण्डको बाँकी सडक आइतबार (भोलि) देखि कालोपत्रेको काम सुरु हुने भएको छ । निर्माण ब्यवसायीले आइतबार देखि कालोपत्रेको काम सुरु गर्ने लिखित सहमति गरेको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले हाम्रोसंचारलाई जानकारी दिए ।
शुक्रबार नगरप्रमुख कार्कीको बिशेष पहलमा निर्माण ब्यवसायीसँगको छलफलमा यस्तो सहमति भएको हो । यसअघि मंसिर २२ गतेबाट चावहिल-साँखु सडक खण्डको मुलपानी, थली, डाँछी लगायतका स्थानमा कालोपत्रेको काम सुरु गर्ने भनिएपनि निर्माण व्यवसायीले आस्फाल्ट (कालोपत्रे)मिक्स गर्ने मेसिनमा प्राविधिक समस्या आएकाले काम अगाडी बढाउन नसकिएको बताएको थियो । तर शनिबारबाट उक्त समस्या समाधान गरिसकिएकोले आइतबारबाट काम अगाडी बढाइने बताएको हो ।
चाबहिल-साँखु सडक खण्डको जोरपाटी, हरियाली नगर, डाँछीलगायत स्थानमा कालोपत्रे गर्नका लागि कोशकोर्ष बिछ्याउने काम सम्पन्न भैसकेको निर्माण ब्यवसायीले जानकारी गराएको छ ।
चाबहिल-साँखु सडकखण्डमा पर्ने थलीस्थित व्यञ्जन पार्टी प्यालेसदेखि गोकर्ण रिसोट छेउ उकालोसम्मको बाटो कच्ची छ । बर्षमा हिलो र हिउँदमा धुलो उड्ने भएकाले स्थानीय समस्यामा परेका छन् ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमा साढे १२ किलोमिटर लामो यो सडक विस्तार गर्न प्रक्रिया अघि बढाएको थियो ।
आयोजनाले सडकलाई पाँचवटा प्याकेजमा ठेक्का लगाएर विस्तारको काम अघि बढाएको थियो । चाबहिलदेखि दक्षिण ढोकासम्मको सडक १० मिटर चौडाई र दक्षिण ढोकादेखि साँखुसम्म ६ मिटर चौडाईको थियो ।
आयोजनाले यो सडक २२ मिटरमा विस्तार गर्न ठेक्का लगाएको थियो । त्यसका लागि १६ मिटरसम्म सडक खाली गर्नुपर्ने अवस्था थियो । सडक विस्तार गर्दा ठूलो संख्यामा भौतिक संरचना भत्काउनुपर्ने अवस्था थियो । स्थानीय आफ्नो घर भत्काएर सडक विस्तार गर्ने पक्षमा थिएन । स्थानीयको चर्को विरोधले आयोजनाले सडक विस्तारका लागि आवश्यक जग्गा विकास गर्न सकिरहेको थिएन ।
सडक विस्तारका लागि आवश्यक जग्गा उपलब्ध हुन नसक्दा निर्माणले तीव्रता पाउन सकेको थिएन । स्थानीयले सडक विस्तार गर्दा सुकुम्बासी हुने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले सडक विस्तार गर्ने क्रममा अधिग्रहण गर्नुपर्ने जग्गा र भत्किने भौतिक संरचनाको उचित मूल्य दिन आदेश दिएको थियो । उक्त सडक विस्तार गर्न एक अर्ब ७३ करोड ५४ लाख रुपैयाँको ठेक्का लगाइएको थियो ।
साढे दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी चाबहिल–साँखु सडकखण्ड विस्तार प्रक्रिया अघि बढाइएको थियो ।