एजेन्सी । भारतको गुजरात विधानसभामा भारतीय जनता पार्टी ९भाजपा०ले ऐतिहासिक जित हासिल गरेको छ । तर हिमाचल विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ भने भाजपाले सत्ता गुमाएको छ ।
१८२ सिट रहेको गुजरात विधानसभामा भाजपाले १५६ सिट जितेको छ । यस्तै कांग्रेसले १७ र आम आदमी पार्टी आपले ५ सिट जितेका छन् । भाजपाको यो जित गुजरातमा हालसम्मकै धेरै सिट जितेको रेकर्ड हो ।
यसअघि सन् १९८५ मा भएको सातौं विधानसभामा निर्वाचनमा कांग्रेसले १४९ सिट जितेर सबैभन्दा धेरै सिट जितेको रेकर्ड राखेको थियो । त्यतिबेला भाजपाले केबल ११ सिट मात्र जितेको थियो । यसपटकको निर्वाचनमा भने भाजपाले रेकर्ड तोड्न सफल भएको छ । सन् २००२ मा भाजपाले गुजरात विधानसभामा १२७ सिट जितेको थियो । सन् २०१७ को गुजरात विधानसभा निर्वाचनमा भाजपाले ९९ र कांग्रेसले ७७ सिट जितेका थिए ।
हिमाचल प्रदेशको विधानसभामा भने कांग्रेसले बहुमत पाएको छ । यहाँ कांग्रेसले ४० सिट जित्दा भाजपाले २५ सिट जितेको छ । आम आदमी पार्टीले एक सिट पनि जित्न सकेन । २०१७ को हिमाचल विधानसभा चुनावमा भाजपाले ४४ सिट जित्दा कांग्रेसले २१ सिट जितेको थियो । यसपटक भने भाजपाले हिमाचलको सत्ता गुमाएको छ ।
एक साता अघि गुजरात र हिमाचल प्रदेशमा विधानसभा निर्वाचन भएको थियो । उक्त निर्वाचनको सबै परिणाम बिहीबार सार्वजनिक भइसकेको छ ।