Skip

Hamro Sanchar

कुसोम र कागेश्वरी मनोहरा नगरपालिकाबीच नगर विकासका लागि समझदारीपत्रमा हस्ताक्षर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ३ गते


काठमाडौं। काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका (केएमएम) बीच अनुसन्धान, सर्वेक्षण तथा तालिममार्फत नगर विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ।

ललितपुरको बालकुमारीमा अवस्थित, सन् १९९३ मा स्थापना भएको अग्रणी व्यवस्थापन शिक्षण संस्था कुसोमसँग नगरपालिकाले बुधबार सम्झौता गरेको हो।

समझदारीपत्रमा कुसोमका तर्फबाट डिन प्रो. डा. विजय केसी र कागेश्वरी मनोहरा नगरपालिकाका तर्फबाट नगरप्रमुख उपेन्द्र कार्कीले हस्ताक्षर गरेका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी पनि हस्ताक्षरकर्ता रहेका छन्। साक्षीका रूपमा कुसोमका सहायक प्राध्यापक डा. लालबहादुर पुन र नगरपालिकाकी वरिष्ठ अधिकृत सङ्गीता घिमिरे रहेका छन्।

समझदारीअनुसार दुबै संस्थाले नगरपालिकाको प्राथमिकताअनुसार विभिन्न क्षेत्रमा अनुसन्धान तथा सर्वेक्षण सञ्चालन गर्ने, युवा, महिला, लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र अगुवा कृषकहरूका लागि उद्यमशीलता विकास तथा व्यवसाय प्रवर्द्धनमा सहकार्य गर्नेछन्। साथै स्थानीय व्यवसायी, किसान तथा उद्यमीहरूको क्षमता अभिवृद्धि तथा सीप विकासका लागि तालिम सञ्चालन गरिनेछ। नगरपालिकासम्बन्धी नीतिहरूको समीक्षा, विश्लेषण तथा अनुसन्धान गर्ने र विद्यार्थीहरूलाई अनुसन्धान, सर्वेक्षण तथा फिल्डवर्कमा संलग्न गराउने विषयहरू पनि समझदारीमा समेटिएका छन्।


प्रतिकृया दिनुहोस्