काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ ।
मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपाका प्रवक्ता खडग्बहादुर विश्वकर्माले निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने माग गरेका हुन् ।
वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाइगर्ने निर्णय मन्त्रिपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिइएको प्रवक्ता विश्वकर्माले बताए ।
गृहमन्त्री खाँणले पनि सो समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिबद्ध रहेको बताएका थिए । गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रवक्ता विश्वकर्माले भने, ‘सरकार र हामीबीच भएको सहमति छिटोभन्दा छिटो यसलाई रिजल्टमा उतार्नुस् र हामीलाई रिजल्ट दिनुस्, जनतालाई रिजल्ट दिनुस् भनेर हामीले आज भनेका छौं । र, सरकारले के भनेको छ भने हामी यसप्रति इमान्दार र प्रतिबद्ध छौं । यसलाई पूरा गर्ने सन्दर्भमा फेरि पनि हामी लाग्छौं । र, लागिरहेका छौं भन्ने सरकारको जवाफ छ । उहाँहरुको अहिले यो विषयमा पनि थुप्रै इक्सरसाईजहरु चलिराखेका छन । त्यसैको अभिव्यक्ति पनि होला । आज हेर्दाखेरी वार्ता सकारात्मक छ । तर, अहिले हामीले फोकस गरेको भनेको परिणाम हो । त्यो हेर्नुपर्छ ।’
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरी नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर उक्त सहमति अझै कार्यान्वयनमा नआएको भन्दै नेकपाले असन्तुष्टि जनाउँदै आएको छ ।