Hamro Sanchar

ओनसरी घर्तीले पार्टीभन्दा राष्ट्रको हित हेर्नुहुन्छ- प्रधानमन्त्री देउवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, ३० गते


Advertisement

काठमाडौं, असोज ३०- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं-२ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेता ओनसरी घर्तीले पार्टीभन्दा पनि राष्ट्रको हित हेर्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले घर्तीले सभामुख हुँदा निष्पक्ष रूपमा काम गरेको भन्दै देउवाले प्रशंसासमेत गरेका थिए ।

‘ओनसरी घर्ती अत्यन्तै साहसी महिला हुनुहुन्छ । उहाँले कुशलताका साथ सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो । मलाई त विश्वास पनि थिएन, उमेर सानै थियो, सभामुख के चलाउनुहोला भनेको त सबैभन्दा सफल तरिकाले उहाँले संसद चलाउनुभयो,’ काठमाडौं‌को काँडाधारीमा आज सत्ता गठबन्धनले गरेको कार्यक्रममा देउवाले भने ।

माओवादीबाट निर्वाचित भए पनि ओनसरीले कहिल्यै पनि पार्टीको आशीर्वाद नमागेको उनले बताए ।

‘उहाँले संसदीय व्यवस्थामा पार्टीको भन्दा पनि राष्ट्रको हित हेर्नुभयो,’ उनले भने, ‘पार्टीको आदेशभन्दा पनि आत्माको आदेश उहाँले मान्नुभयो । त्यसकारण उहाँ सच्चा लोकतन्त्रवादी र निष्पक्ष सभामुख हुनुभयो र मलाई विश्वास छ यो क्षेत्रको विकासमा लाग्नुहुन्छ ।’

यस्तै देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नु आवश्यक रहेको बताए । देउवाले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरु एक हुन जरुरी रहेको बताए । उनले निर्वाचनमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनु परेको बताए ।

‘नेपालमा लडेर ल्याएको यो प्रजातन्त्र जो छ यसलाई स्थायित्व दिन जरुरी छ । प्रतिगमनको खतरा अझैपनि छ । त्यसैले सबै पार्टी एक हुन जरुरी छ’, प्रधानमन्त्री देउवाको भनाइ छ ।

उनले काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार र प्रदेश सभा सदस्य उम्मेदवारहरु आपसमा मिलेर गठबन्धनलाई अत्याधिक मतले विजय गराउने विश्वास व्यक्त गरे ।

काठमाडौं क्षेत्र नं. २ मा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा माओवादीकी ओनसरी घर्ती, ‘प्रदेश क’ मा कांग्रेसका ध्रुब केसी र ‘प्रदेश ख’ मा नेकपा एकीकृत समाजवादीका भरत प्रसाद फुयाल उम्मेदवार बनेका छन् ।


प्रतिकृया दिनुहोस्