काठमाडौं, असोज ३०- प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नु आवश्यक रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरु एक हुन जरुरी रहेको बताए । उनले निर्वाचनमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनु परेको बताए ।
‘नेपालमा लडेर ल्याएको यो प्रजातन्त्र जो छ यसलाई स्थायित्व दिन जरुरी छ । प्रतिगमनको खतरा अझैपनि छ । त्यसैले सबै पार्टी एक हुन जरुरी छ’, प्रधानमन्त्री देउवाको भनाइ छ ।
प्रधानमन्त्री देउवाले मिलेर निर्वाचन लड्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौका आएकाले मौकाको सदुपयोग गर्नुपर्ने बताए । उनले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा जोड दिए ।
उनले काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार र प्रदेश सभा सदस्य उम्मेदवारहरु आपसमा मिलेर गठबन्धनलाई अत्याधिक मतले विजय गराउने विश्वास व्यक्त गरे ।
काठमाडौं क्षेत्र नं. २ मा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा माओवादीकी ओनसरी घर्ती, ‘प्रदेश क’ मा कांग्रेसका ध्रुब केसी र ‘प्रदेश ख’ मा नेकपा एकीकृत समाजवादीका भरत प्रसाद फुयाल उम्मेदवार बनेका छन् ।