काठमाडौं, असोज ३०- सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार ओनसरी घर्तीले आफू निर्वाचित भएमा दुई वर्षभित्रमा जोरपाटी-साँखु सडकखण्ड निर्माण सम्पन्न गराउने बताएकी छन् ।
आइतबार काठमाडौंको काँडाघारीमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उनले यस्तो बनाएकी हुन् ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेएकी नेकपा (माओवादी केन्द्र)की नेता घर्तीले आफू निर्वाचित भएमा दुई वर्षसम्म जोरपाटी-साँखु सडकखण्डको स्तरोन्नती तथा निर्माण कार्यसम्पन्न गराउने घोषणा गरेकी छन् । यदी सो अवधिमा निर्माण कार्य सम्पन्न गराउन नसके आफूले पदबाट राजीनामा दिने उनले बताइन् ।
उनले साँखु बजार र शालीनदीको पर्यटकीय विकासमा ध्यान दिने पनि बताइन् । उनले जर्सिङपौवालाई संग्रहालयको रुपमा विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् । नेता घर्तीले दक्षिणढोका, मुलपानी लगायतका क्षेत्रमा हुने डुबानको समस्यालाई समाधान गर्न योजना बनाउने तथा व्यवसायिक तरकारी, फलफूल खेतीको बिस्तार, रोजगारी वृद्धि गर्ने कामलाई उच्च प्राथमिकता राख्ने बताइन् ।
त्यसैगरी मुलपानीमा निर्माणाधिन क्रिकेट रंगशालाको काम छिट्टै सम्पन्न गराउने, युवालाई रोजगारी र खेलकुदमा जोड्ने कार्यक्रम बनाउने पनि उनले प्रतिवद्धता व्यक्ति गरिन् ।
उनले विमानस्थल निर्माणका क्रममा प्रभावितहरुको समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि उल्लेख गरिन् । कोटेश्वरमा हुने जामको समस्यालाई हटाउन आवश्यक पहलकदमी लिने उनले बताइन् ।
कांग्रेससँग व्यवस्था परिवर्तन गर्न सहकार्य गरेको स्मरण गर्दै अहिले अवस्था परिवर्तन गर्ने मिसन भएको उनकाे भनाइ छ । जनताको समस्यासँग आफू सबै नजिक भएको समेत बताइन् । जनताको विश्वासको पाए ५ वर्षमा काठमाडौं २ को विकास गर्ने उनको भनाइ थियो ।