Hamro Sanchar

एकोहोरो मायामा परेकी आस्था, ‘भेट्न नआए मेरो मुख हेर्न पाउँदैनौं’ भन्दै मोहनामा हाम फालिन्

प्रकाशित : २०७९ भदौ, २४ गते


Advertisement

धनगढी, भदौ २४- कैलाली भएर बग्ने मोहना नदीमा शुक्रबार विहान एक किशोरीको शव फेला पर्‍यो । उक्त शव थियो, धनगढी उपमहानगरपालिकाकी आस्था शर्माको ।

सोमबार विद्यालय जान्छु भनेर घरबाट हिँडेकी १६ वर्षीया शर्मा मृत अवस्थामा भेटिएकी थिइन् । उपमहानगरपालिकाको वडा नम्बर १३ की शर्माले मोहनामा आफै हाम फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनको मृत्युको कारण भने प्रष्ट रुपमा नखुले पनि प्रहरीको पहिलो चरणको अनुसन्धानले केही संकेत भने देखाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानलाई आधार मान्दा उनी एक किशोरको प्रेममा थिइन् । मुस्लिम समुदायका ती किशोरसँग आस्थाको दैनिकजसो कुरा हुने गरेको प्रहरीले जनाएको छ । पछिल्लो पटक आस्थाले ती किशोरसामू प्रेम प्रस्तावसमेत राखेको प्रहरीले अनुसन्धानले देखाएको छ ।

तर, ती किशोरले आस्थाको उमेर सानै भएका कारण अहिले नै प्रेम सम्बन्धमा बस्न नहुने भन्दै उनलाई सम्झाएका थिए । त्यसपछि ती किशोरले आस्थालाई फेसबुकमा ब्लक गरे । तर, मायामा पागल भएकी आस्थाले भने त्यो सहन सकिनन् । र, सोमबार बिहान ती किशोरलाई भेटर आफूलाई किन ब्लक गरेको भनेर सोधेको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सोही दिन साँझ आस्थाले ती किशोरलाई धनगढीको फाप्लानजिक भेट्न पनि बोलाएकी थिइन् । ‘साँझ भेट्न नआए मेरो मुख हेर्न पाउँदैनौं’ भनेर उनले आफ्नो बहिनीलाई भनेको कैलाली प्रहरीले जनाएको छ ।

उनी सोही दिनदेखि बेपत्ता भएकी हुन् । एकोहोरो मायामा परेकी आस्थाको प्रेमप्रस्ताव अस्वीकार गरेर र फेसबुकमासमेत ब्लक गरेका कारण उनले मोहनामा हामफालेको हुनसक्ने आशंका गरिएको छ । यस घटनामा कैलाली प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्