काठमाडौं, भदौ १९- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शासन प्रणाली र निर्वाचन प्रणाली बदल्न निर्वाचन लगत्तै सडकमा जाने घोषणा गरेका छन् । आइतबार काठमाडौमा भएको मार्क्सवादी ज्ञान केन्द्रको साधारण सभा तथा समाजवादको नेपाली मार्गचित्र विषयक गोष्ठिमा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘हेर्नुहोला मैले आफ्नो पार्टीभित्र त भनेकै छु, चुनावपछि म यो प्रणाली बदल्न सडकमा जान्छु’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘समाजवादको जे परिकल्पना संविधानमा गर्न खोजेको हो मैले कम्युनिस्ट एकता गर्दाको घोषणपत्रमा पनि समाजवादतिर लाने कुरा छन् ।’
उनले समाजवादको सपना देखेर नै आफुले वामपन्थी कम्युनिस्ट एकता आवस्यक ठानेर गरेको पनि बताए । ‘त्यसलाई प्राप्त गर्न अब एकचोटी फेरि म यो मेसनरी बदल्नका निम्ति, यो निर्वाचन र शासन मेसनरी बदल्नका निम्ति जनतामा जानुको कुनै विकल्प छैन ।’ उनले चुनावअघि सडकमा जान सम्भव नभएको पनि बताए ।
‘अहिले त निर्वाचन आइनैसक्यो प्रदेश र संघको निर्वाचन संघारमा छौ हामी । गणतन्त्र र संघीयता माओवादीसँगै जोडिएको छ । तर विभिन्न कोणबाट परिवर्तनलाइ निस्तेज पार्न भएको प्रहारले मलाई नै सबैभन्दा बढी छटपटी भएको छ’, प्रचण्डले भने, ‘यो परिवर्तन उल्ट्याउने षडयन्त्र भइरहेको छ ।’