काठमाडौं, भदौ १७- आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट भागबन्डा विषयमा सत्तारूढ पाँच दलबीच सकस कायमै छ ।
बिहीबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनमा आबद्ध पाँचै दलका शीर्षतहका नेताको पटक-पटकको बैठकले चुनावी सिट बाँडफाँटका लागि प्रारम्भिक खाका बनाए पनि सहमतिबिनै टुंगिएको हो ।
निरन्तरको बैठकमा आआफ्ना अडान राख्दै आएका शीर्षनेता दलगत रूपमै एक कदम ‘ब्याक’ हुन तयार भएपछि भागबन्डाको प्रारम्भिक खाका बनेको बताइएको थियो । तर, सो खाकामा पनि जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अन्तिम सहमत नदिएपछि बैठक बिनानिष्कर्ष सकिएको हो ।
बालुवाटार उच्चस्रोतका अनुसार शीर्षतहमा बनेको सिट बाँडफाँट खाकामा कांग्रेस सय सिट दाबीबाट ‘ब्याक’ भएको छ । जसअनुसार कांग्रेसले ८५ सिट लिएर गठबन्धनका अन्य दलले ८० सिटभित्र बाँडफाँट गर्नेगरी खाका बनाइएको थियो ।