Hamro Sanchar

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

प्रकाशित : २०७९ साउन, २ गते


Advertisement

काठमाडौं, साउन २- नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।

पोखरेलले सोमबार सेवाबाट राजीनामा दिएका हुन् । पोखरेलको राजीनामा स्वीकृत हुन भने बाँकी छ । पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाएका हुन् । उनले एआइजी पूजा सिंहमार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन् ।

पोखरेलको राजीनामा महानिरीक्षक सिंहले गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ । आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी सिंहलाई महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेपछि पोखरेल २०७९ वैशाखमा आइजीपी बढुवा बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिट दायर भएको साढे दुई महिनापछि असार ३१ मा कामु प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गरेको थियो ।


प्रतिकृया दिनुहोस्