काठमाडौं, असार ११- उप्रेती समाजसेवा समितिले विभिन्न ६ व्यक्ति तथा सामाजिक संस्थालाई आर्थिक सहयोगसहित सम्मान गरेको छ । संस्थाले शनिबार साधारण सभाको आयोजना गरि उनीहरुलाई सहयोगसहित सम्मान गरेको हो ।
कार्यक्रम बत्तिसपुतलीस्थित तपस होटलमा भएको हो ।
सचिव बलराम उप्रेतीकाअनुसार संस्थाले तारा-कमला-सुरेन-रेणु उप्रेतीले आफ्ना आमाबाबुको नाममा स्थापना गरेको ‘पद्मालाल-निर्मला उप्रेती स्मृति पुरस्कार’ रेडियो पत्रकार चन्दा बिष्टलाई प्रदान गरेको छ । उनलाई ५१ हजार रुपियाँसहित सम्मान गरिएको हो । भने मोहनकृष्ण-प्रेम-प्रकाश-राजेन्द्र उप्रेतीले आमाबाबुको सम्झनामा स्थापना गरेको ‘लक्ष्मी देवी-गंगा प्रसाद उप्रेती स्मृति’ सम्मान/पुरस्कार मानवसेवामा सक्रिय रहेको सामाजिक संस्था मानवसेवा आश्रमलाइ प्रदान गरिएको छ । उनलाई ५१ हजार रुपियाँसहित सम्मान गरिएको हो ।यस्तै सावित्रा उप्रेतीले बाबुको नाममा स्थापना गरेको ‘खगेश्वर उप्रेती स्मृति सम्मान/पुरस्कार’ खगेन्द्र नवजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक राघव प्रसाद दवाडी, तुलसी प्रसाद उप्रेतीले स्थापना गरेको ‘धर्मानन्द-कौशल्या उप्रेती स्मृति सामाजिक सेवा सम्मान/पुरस्कार’ बिना बस्नेतले संचालन गरेको orchid garden nepal, पवित्रा शर्मा उप्रेतीले स्थापना गरेको ‘धर्मानन्द-कौशल्या उप्रेती महिला सशक्तीकरण सम्मान/पुरस्कार’ उमादेविले संचालन गरेको सिर्जनशील चिल्ड्रेन वेलफेयर अर्गनाइजेसन, राम प्रसाद उप्रेतीले स्थापना गरेको चन्द्र कुमारी राना मगर स्मृति सम्मान/पुरस्कार दिक्षा चापागाईले संचालन गरेको पवित्र समाजसेवा नेपाललाई प्रदान गरिएको छ । उनीहरुलाई क्रमशः १० हजार रुपियाँसहित सम्मान गरिएको हो ।
मोहन कृष्ण उप्रेतीको सभापतित्व तथा गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न बार्षिक साधारण सभामा डा.सुरेन्द्र उप्रेती, अरुणा उप्रेतीलगायत सम्मानित हुने संस्थाका प्रमुख बिशेष अतिथि रहेका थिए ।
संस्थाका सचिव बलराम उप्रेतीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष डा.धर्मराज उप्रेतीले स्वागत मन्तब्य दिएका थिए ।