Hamro Sanchar

श्रीमतीको घाँटी गम्छाले कसेर हत्या गरी प्रहरीमा यसो भन्दै पुगे कमल

रासस प्रकाशित : २०७९ असार, ११ गते


Advertisement

अर्घाखाँची, असार ११- अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

शुक्रबार दिउँसो साढे २ बजे मालारानी–२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

दुईजना घरबाट नजिकैको जङ्गलमा घाँस दाउरा लिन भनी सँगै गएको र आफुले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर मारी नजिकैको खोल्सीमा स्याउलाले ढाकेर ‘श्रीमतीको हत्या गरेँ’ भनी भुसाल आफैँ इलाका प्रहरी कार्यालयमा गएका थिए ।

दुई वर्षअघि रूपन्देहीको सैनामैना ४ कि सरूसँग मागी विवाह गरेका कमलले विवाहको केही समयपछि नै दाइजोको विषयमा श्रीमतीलाई तनाव दिने गरेको स्थानीय बुद्विराम खत्रीले बताए । ‘दाइजोको विषयमा पटक -पटक श्रीमानले पीडा दिएको कुरा सरूले बताएकी थिइन्, हत्याको मूल कारण यहीँबाट हुनुपर्छ, अनुसन्धानमा खुल्ला, विवाहको केही समयपछि नै विवाद सुरू भएको थियो,’ उनले भने ।

सरू र कमलको एक वर्षको छोरा छन् ।

प्रहरी निरीक्षक पौडेलका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ र घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।


प्रतिकृया दिनुहोस्