काठमाडौँ, असार ११- काठमाडौंको उत्तर पूर्वमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को लागी कुल २ अर्ब, ७ करोड, ७० लाख, ७४ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभाको छैठौं अधिबेशनमा नगरपालिका वडा नं-१ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेलले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
नर्लिंङ रिसोर्टमा आयोजित छैठौं अधिबेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा सामाजिक क्षेत्र, व्यवस्थित शहरी विकाससहितको भौतिक पूर्वाधार, ‘नगर खानेपानी बोर्ड’ गठन गरि पाँच बर्षभित्र घर-घरमा स्वच्छ खानेपानी, नगरपालिकामा रहेको नगर अस्पताल लगायत सम्पूर्ण स्वास्थ्य केन्द्रहरु र शहरी स्वास्थ्य केन्द्रको क्षमता विस्तार र सुधार, ज्येष्ठ नागरिकलाइ घरदैलोमा नि:शुल्क स्वास्थ्य उपचार सेवा, विद्यालय स्वास्थ्य कार्यक्रमलाइ प्राथमिकता र नगरलाइ खेलकुद नगरको रुपमा विकास गर्ने योजना रहेको जानकारी गराए ।
”सबल, सक्षम, सुशासनयुक्त, विकासमुखी स्थानीय सरकार” नारा दिएको नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, रोजगारी उध्यमशिलता, शहरी पूर्वाधार, खोज अनुसन्धान, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन, नागरिक सहभागीता, पर्यावरणीय सन्तुलन र निरन्तर दिगो भौतिक पूर्वाधारको विकास, सामाजिक न्याय बिना सामाजिक रुपान्तरण हुन नसक्ने भन्दै नीति तथा कार्यक्रममा यी कुराहरुलाई बढी जोड दिएको छ ।
यस्तै खेलकुद हव, सुबिधा सम्पन्न नगर स्तरीय बसपार्क, नगर सभाहल, वैज्ञानिक र ब्यबस्थित फोहोरमैला विसर्जन केन्द्र आदि निर्माणका लागि सम्भाव्यता अध्ययन, बागमती, मनोहरा र महादेव खोला किनारहरुमा ढल निकाससहितको कोरिडोर निर्माण गर्न पहल गर्ने गरिने नीति तथा कार्यक्रममा समावेश छ ।
नगर सभाको उद्घाटन सत्रको प्रमुख अतिथिको रुपमा पुर्वगृह राज्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानिया रहेका थिए भने बिशेष अतिथिको रुपमा संबिधान सभा सदस्य, बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाल, संबिधानसभा सदस्य दिपक प्रसाद कुइकेल, बागमती प्रदेश सभा सदस्य मणिराम फुँयाल, नेकपा एकीकृत समाजवादीका केन्द्रिय परिषद सदस्य तथा किसान महासंघका सचिब भरत फुँयाल लगायत बिभिन्न राजनीतिका दलका प्रतिनिधि, कार्यपालिका सदस्यहरु, नगर सभासदस्य सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि बोलेका थिए ।
नगरसभा बैठकमा विधयेक समितिका संयोजक एवम् वडा नं-७ का वडाअध्यक्ष भिमसेन थापाले नगरपालिकाको खानेपानी तथा सरसफाई बिधेयक २०७९ र नगर शिक्षा ऐन, पहिलो संशोधन बिधेयक २०७९ पेश गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख, बिशेष अतिथिलगायत बिभिन्न राजनीतिका दलका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमलाई समापन गर्दै नगर उपप्रमुख शान्ता थापाले आफुहरु जुन पार्टीबाट निर्वाचित भएपनि सबै एउटै परिवारका सदस्य जस्तो भएको संदेश दिँदै नीति तथा कार्यक्रममा समावेश भएका बिषयहरु सबै मिलेर सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।