दोलखा, असार १०- दोलखाको मेलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ५७ करोड ६६ लाख २४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको प्रथम गाउँ सभा तथा एघारौँ अधिवेशनमा पालिका अध्यक्ष हिरा थोकरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष गायत्री आर्चायले चालु तर्फ ७९ लाख ६२ हजार र पुँजीगत तर्फ ५७ करोड ६६ लाख २४ हजार गरी कुल ५७ करोड ६६ लाख २४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तावित बजेट तथा कार्यक्रमका लागि संघिय सरकारबाट प्राप्त हुने रकम ४४ करोड ७३ लाख ६० हजार, प्रदेश सरकारबाट प्राप्त हुने ९० करोड ७७ लाख ६० हजार, गाउँपालिकाको आन्तरिक श्रोत र गत वर्षको बचत आदिबाट प्राप्त हुने रकम ४ करोड १४ लाख ८८ हजार गरि कुल ५७ करोड ६६ लाख २४ हजार प्राप्त हुने अनुमान गरिएको पालिकाले जनाएको छ ।
त्यसैगरी व्यय तर्फ आर्थिक विकासका लागि एकमुष्ठ रकम ४ करोड १ लाख, सामजिक विकास तर्फ २१ करोड ६८ लाख ६२ हजार, भौतिक पुर्वधार विकासतर्फ २३ करोड ३३ लाख, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ५० लाख, संस्थागत विकास तथा सेवा प्रवाह तर्फ १ करोड ५९ लाख ५० हजार र प्रशासनिक तथा अन्य तर्फ ५ करोड रकम विनियोजन गरेको छ ।
गाउँपालिकाले नीति तथा कार्यक्रममा युवाहरुलाई कृषि क्षेत्रमा लाग्न प्रोत्साहन गर्न उद्यम विकास कोष स्थापना गर्ने, विद्यार्थीसंग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिका भित्रका सामुदायिक विद्यालयबाट एसईई उतीर्ण गर्ने विद्यार्थीलाई एमबिबिएस अध्यन गर्न आर्थिक सहयोगको व्यस्थापन गर्ने लगायतलाई प्राथमिकतामा राखेको छ ।