Hamro Sanchar

अझै पक्राउ परेनन् धादिङमा प्रकाश र भक्तको ज्यान लिने ट्रक चालक, परिवार थप पीडामा

प्रदिप नेपाली प्रकाशित : २०७९ असार, ८ गते


Advertisement

काठमाडौं, असार ८- दोलखाको मेलूङ गाउँपालिका-१ का २९ वर्षीय प्रकाश नेपालीको मृत्यु भएको दुइ हप्ता भएको छ । प्रकाशको परिवारले काजकिरिया पनि गरिसकेका छन् । प्रकाश घरबाट निस्केको ३ दिनमै ट्रकको ठक्करबाट गत जेठ २५गते मृत्यु भएको थियो ।

हुर्केको एक्लो छोरा गुमाउँदा परिवार पीडामा छ । परिवारमा कसैका आँखा ओभाएका छैनन् । ट्रक चालक फरार भएपछि बुबाआमामा छोराको पीडामाथि न्याय नपाउने चिन्ता थपिएको छ । ‘प्रहरीले अहिलेसम्म चालक पक्राउ नगर्दा मनमा पीडासँगै शंका उत्पन्न भएको छ । प्रहरीमा लाइसेन्स भएको चालक आउने र कारबाही कम हुने षड्यन्त्र हुँदै छ,’ प्रकाशका बुबा वीर बहादुरले भने, ‘दोषीलाई कडा कारबाही हुनुपर्छ ।’

ट्रक चालक बारा सिमराका सानु यादव अझै फरार छन् । प्रहरीले ना७ख ९७७७ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी उपरीक्षक भाबेस रिमालले आफूहरू निरन्तर अनुसन्धानमा भएकाले केही दिनमै चालक पक्राउ पर्ने बताए । हाम्रोसंचारसँग कुरा गर्दै प्रहरी उपरीक्षक रिमालले भने, हामी निरन्तर अनुसन्धानमा छौ । खोजि कार्यलाई तीव्र पारेका छौ । चालकलाई पक्राउ गर्न बारा जिल्ला प्रहरी कार्यालयमा सूचना पठाएका छौं । सबै ठाउँमा निर्देशन दिइसकिएको छ । चालक मामाघरमा बस्ने गरिएको सूचना पाएका थियौं तर त्यहाँ पनि नभेटिएकाले भारत भागेको हुन सक्छ, तर पक्राउ गर्न छिट्टै सफल हुनेछौ ।’

दुर्घटनामा प्रकाशसँगै उनका सहयोगी ओखलढुंगा जिल्ला लिखु गाउँपालिका-१ गैरीका १७ बर्षिय भक्त बहादुर बोगटीको ज्यान गएको थियो ।

काठमाडौंबाट जाँदै गरेको उक्त ट्रकले नारायणघाटबाट अन्डा बोकेर काठमाडौं आउँदै गरेको ना५च २६८३ नम्बरको अशोक लिल्याण्ड पिकअपलाई धादिङको गल्छीबाट डेड किलोमिटर माथि मोडमा बिहान १:४० बजे ठक्कर दिएको थियो । दुर्घटनामा चालक प्रकाशको र उनका सहयोगी भक्त बहादुरको घटनास्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा ठक्कर दिने ट्रकको सामान्य क्षति भएको छ भने अशोक लिल्याण्ड पिकअप गाडी क्षतविक्षत बनेको छ ।

घटनापछि ‘तराइ यातयात ब्यबसायी संघ’ले ट्रक मालिक र चालकलाई जोगाउन ५० हजार रुपियाँ दिएर मिलाउने प्रयास गरेको थियो तर पिडित पक्षले नमान्ने भन्दै चालकलाई हदैसम्मको कारबाहीको माग गर्दै जाहरी दिएको छ । यता ट्रक मालिक पनि सम्पर्कमा आएको छैन भने संघले थोरै रकम दिएर घटनालाई थामथुम पार्ने प्रयास गर्दै आएको छ ।


प्रतिकृया दिनुहोस्