१२ मंसिर, काठमाडौं । यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
मारिनेमा अधिकांश बालबालिका रहेको हुथी सञ्चारमाध्यमले जनाएको छ। शुक्रबार ताइज प्रान्तको अल–तुर्बा सहरस्थित आवासीय भवनमा भएको आक्रमणमा सर्वसाधारणको ज्यान गएको हो।
यसैबीच साउदी सेनाले हुथी नियन्त्रित सादा क्षेत्रमा इन्धन भण्डारण केन्द्रलाई पनि निशाना बनाएको छ।
यसअघि हुथी विद्रोहीले साउदी अरबको जाजानस्थित तेल प्रशोधन केन्द्रमा गरेको आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको थियो। उक्त आक्रमणपछि केन्द्रको सञ्चालनसमेत बन्द गरिएको थियो।
यमनमा पुनः चर्किएको द्वन्द्वका कारण हालसम्म २ हजार ३०० भन्दा बढीको मृत्यु भएको र ३ लाख ६४ हजारभन्दा बढी विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

























