२७ कार्तिक, काठमाडौं । तिहारको लामो बिदा सकिएर शुक्रबार मात्रै खुलेका सरकारी कार्यालय फेरि लगातार तीन दिन बन्द हुने भएका छन्।
कात्तिक २१ गते शनिबारदेखि सुरु भएको तिहार बिदा २६ गतेसम्म चलेको थियो। त्यसपछि शुक्रबार कात्तिक २७ गते एक दिन कार्यालय खुले पनि अब पुनः तीन दिन सार्वजनिक बिदा परेको हो।
कात्तिक २८ गते शनिबार र २९ गते आइतबार नियमित साप्ताहिक बिदा छ। त्यसैगरी छठ पर्वको अवसरमा सरकारले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत छठको भोलिपल्ट सोमबारसमेत सार्वजनिक बिदा हुने जानकारी दिएका हुन्।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने परम्परा रहेकाले थप एक दिन बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
यससँगै शुक्रबारपछि सरकारी कार्यालय तथा सार्वजनिक निकाय लगातार तीन दिन बन्द रहनेछन्।


























